Monday, July 12, 2010

दर्शक बटुल्दै बाटुली


दमक-, माघ ७ - डाक्टरसिंह गुरुङले डुबिने हो कि भन्ने डर मान्दै फिल्म निर्माणमा हात हालेका थिए । पहिलो फिल्म 'बन्दकी' ले उनलाई 'नाम र दामको शिखरमा पुर्‍यायो ।' यसले फिल्ममै पैसा लगाइरहन उक्सायो । त्यही उक्साहटमा बनाएको 'बाटुली' यति बेला पूर्वको दमकदेखि पश्चिमको धनगढी- सम्म प्रदर्शन भइरहेको छ ।


'यसमा पनि दर्शकको भीडले ममा झन् उत्साह थपेको छ,' दमकमा बुधबार भेटिएका निर्माताले भने । 'बाटुली' पाथिभरा हलमा तीन सातादेखि प्रदर्शन भइरहेको छ । हल सञ्चालक एवं चलचित्र वितरक चैतन्य बरालको दाबीअनुसार सुरुका दिनदेखि दर्शक पातलिएका छैनन् ।'यसरी चल्दैन कि जस्तो लागेको थियो,' बरालले भने, 'तर दर्शकले यति मन पराए कि सबै अचम्म परेका छन् ।'


यो फिल्मको मुख्य कथा गाउँ जीवन वरिपरि घुमेको छ । नेताहरूले नयाँ नेपालबारे जति नै भाषण ठोके पनि बाटुली नामकी महिला तिनमा विश्वस्त हुन्न । उसलाई के लाग्छ भने साँच्चैको नयाँ नेपाल गाउँले प्रयासले मात्र बन्छ । ऊ 'हरियो वन नेपालको धन' भन्ने आहानलाई व्यवहारमा उतार्न थाल्छे । सामुदायिक वन जोगाउन, त्यसमा घाँस रोप्न अनि गाउँमै गाईवस्तु पाल्न ऊ सबैलाई प्रेरित पनि गर्छे । दूध, दही, घिउ बेचेर प्रशस्त आम्दानी गर्न थाल्छे । अनि ऊ आफ्नो जीवनस्तर उकास्न सफल हुन्छे । नयाँ नेपालको सपना बाँड्दै हिँड्ने नेताहरूलाई योभन्दा ठूलो पाठ के हुन्छ ?


'फिल्मको चुरो कुरै यही हो,' निर्माता गुरुङले सुनाए, 'नयाँ नेपाल निर्माणका लागि नेताको बाटो हेर्नु पर्दैन । बाटुली जस्तै साधारण मानिसको सानो प्रयासले पनि नयाँ नेपालको पूर्वाधार बन्छ ।'
दमक-१४ की गृहिणी मीना बस्नेतले पनि यस्तै धारण बनाएकी छन् । 'फिलिममा देखाए जस्तै गाउँ- ठाउँका महिलाले पनि सशक्तीकरणका लागि प्रयास गरे परिवर्तन हुने रैछ,' फिल्म हेरेर र्फकंदा उनले भनिन्, 'छोरीले राम्रो फिलिम छ भनेर आ'की थेँ, राम्रो रैछ ।''बाटुली' मा राजेश हमाल, विराज भट्ट र रेखा थापाको मुख्य भूमिका छ । आफैंले पैसा खन्याएको फिल्ममा गुरुङले नखेल्ने कुरै भएन । अचेल यस्तै प्रचलन जो छ ।

1 comment:

  1. कथा बस्तु पनि राम्रै रहेछ | कुराले मात्र देश बन्ने त होइन | काम पनि सबैले गर्नै पर्छ नि |

    ReplyDelete