Monday, July 12, 2010

एम्बुलेन्स चालक महिला


दमक, मंसिर २१ - पीडा जसले भोग्छ उसैलाई थाहा हुन्छ । दशकअघि आफूलाई प्रसव बेथा लाग्दा एम्बुलेन्स नपाएर पीडादायी सुत्केरी भएकी रमा विक अहिले चालक बनेकी छन् । सार्वजनिक सवारीको होइन, उनी एम्बुलेन्सको चालक बनिन् । ३४ वर्षीया रमाको अठोट थियो, 'कुनै दिन एम्बुलेन्स चालक नै भएर आफूजस्ता प्रसव वेदनाले च्यापेका महिलाको ज्यान बचाउने छु ।'


उनको अठोट तत्कालै पूरा हुन भने सकेन । दुइ साताअघिदेखि भने उनी एम्बुलेन्स हाँकेर सुत्केरी बेथा लागेका दिदीबहिनीलाई समयमै अस्पताल पुर्‍याउने र घर ल्याउने गर्छिन् । दमक ७ की विकले महिना दिनदेखि डम्बर-अम्बिका स्मृति ट्रस्टको एम्बुलेन्स हाँक्न थालेकी हुन् । दुइ वर्षघि गाडी चलाउन सिकेकी उनले धेरैतिर जागिरका लागि भौंतारिएर चुनौतीपूर्ण यो काममा हात हालेको बताउँछिन् । 'केही समय अरू गाडीमा काम गरेपछि मात्रै एम्बुलेन्स चलाउने विचार थियो सुरुमै यतै लाग्नुपर्‍यो,' विकले भनिन्, 'चुनौतीपूर्ण काम रमाइलो हुँदोरहेछ ।'


दमकको रात्रिबस स्ट्यान्डनजिकै डेरामा बस्ने विक रातबिहान नभनी बिरामीको ज्यान बचाउने ध्याउन्नमा दौडिन्छिन् । 'मेरो पेसाले दिउसो, राति र सजिलो अप्ठेरो भन्न मिल्दैन,' उनले भनिन्, 'मेरो एक मिनेटको ढिलाइले मानिसको ज्यान जान सक्छ ।'


०४९ सालमा बिहे गरेकी उनका श्रीमान् वैदेशिक रोजगारीमा गएकाले माइतीघर खुदुनाबारी बस्दै थिइन् । उनका दुवै छोरा जन्मिने बेलामा अस्पताल पुग्न पाइनन् । धेरै अनुनयविनय गर्दा पनि एम्बुलेन्स सञ्चालकले सहयोग नगरेको उनले बताइन् । रमाले भनिन्, 'प्रसव पीडाले छट्पटाउँदै गर्दा सुत्केरीबाट उठेपछि एम्बुलेन्स नै चलाउँछु भन्ने अठोट गरें ।'


स्थानीय लालीगुराँस महिला समूहले दिएको ५ हजार ऋणबाट उनले सुँगुर पालिन् । त्यही पाठा बेचेर आएको पैसाले गाडी चलाउने तालिम लिएकी हुन् । एम्बुलेन्सको खोजी गरिरहेकै बेला उनलाई डम्बर अम्बिका स्मृति ट्रस्टबाट चलाउन भनियो ।



बल्ल ८ वर्षघिको उनको योजना पूरा भयो । अहिले उनी लाइफ लाइन अस्पताल परिसरमा मे१च ३७७ नं. को एम्बुलेन्समा भेटिन्छिन् । त्यहाँबाट घर लैजाने बिरामी ओसार्ने उनको प्रमुख जिम्मेवारी हो । तर बाहिरका बिरामी ल्याउन पनि उनी उत्तिकै सक्रिय छिन् । एम्बुलेन्स चलाएको महिना दिनको अनुभव सुनाउँदै उनी भन्छिन्, 'धेरैजसो महिला बिरामीकै लागि मलाई बोलाइरहेका छन् ।' उनलाई एम्बुलेन्स उपलब्ध गराउने संस्थाका सञ्चालक इन्द्र अधिकारीका अनुसार संस्थामा महिला चालक राखेपछि धेरैवटा अस्पतालले धन्यवाद दिएका छन् ।

1 comment:

  1. साहसी महिला रमा र तिनलाई सहयोग समर्थन गर्ने सबै धन्यबादका पात्र छन् | देश राम्रो बनाउन यस्तै आँटिला र मनकारी मानिसको जरुरत छ |

    ReplyDelete